पहिलो पटक घर बनाउँदा गरिने ११ गल्ती - Study purpose only


पहिलो पटक घर बनाउँदा गरिने ११ गल्ती



भनिन्छ, विहे नगरेको र घर नबनाएको मानिस कहिले पनि परिपक्क हुँदैन । घर बनाउनु आफैमा झण्झटिलो काम हो जसका लागि निकै धेरै अनुभवको आबश्यकता पर्छ । तर, एउटै जीवनमा पटकपटक घर बनाउने सौभाग्य सबैलाई कहाँ मिल्नु ?

अर्थात् अधिकांश मानिसले घर जीवनमा पहिलो पटक नै बनाएका हुन्छन । जसले गर्दा घर बनाउँदा हरेकले धेरै गल्ती गर्ने गर्छन् । घर बनाएर सक्दामात्र थाहा हुन्छ कि कहाँ–कहाँ गल्ती भयो भन्‍ने !

त्यसैले, आज हामी तपाईलाई पहिलोपटक घर बनाउँदा आममानिसले गर्ने केही गल्तीहरु र त्यसलाई निराकरण गर्ने प्रयायबारे जानकारी दिँदै छौं । यी गल्ती नगर्ने गरी आफुलाई तयार राख्नुभयो भने तपाइले घर बनाउँदा निकै पैसा बचाउन सक्नुहुन्छ र आफ्नो घर अनुभवी निर्माताले बनाएजस्तै निपूर्ण पनि बनाउन सक्नुहुन्छ ।

१) राम्रो परामर्शदाता नछान्‍नु

घर बनाउन सुरु गर्नुअघि नक्सा डिजाइनको काम गर्नुपर्ने हुन्छ । कन्सल्टिङ कम्पनीहरुले नक्सा डिजाइनको काम गर्छन । घर बनाउँदा नक्सा डिजाइन र सही कन्सल्टिङ अत्यन्तै महत्वपूर्ण हुन्छ । केएसएम सर्भिसेजका सञ्‍चालक एवं इञ्‍जिनियर निरपेश तण्डुकार अनुभवी कन्सल्टिङ कम्पनीमा जान सुझाव दिन्छन् । घर बनाउँदा हुने सबैभन्दा ठूलो गल्तीमा राम्रो कन्सल्टिङ नहुनु उनको बुझाई छ ।

‘कुनै पनि मान्छे कन्सल्ट्यान्टकोमा जाँदा उसले राम्रोसँग ब्रिफ गर्नुपर्छ, तपाईंको जग्गा यस्तो छ, यस्तो घर बनाउन सकिन्छ भनेर प्रयाप्त समय दिएर ब्रिफिङ गर्नुपर्ने हुन्छ’ तण्डुकार भन्छन्, ‘ग्राहकले पनि कन्सल्टिङका लागि राम्रो समय दिनुपर्छ । खासगरी, नक्सा डिजाइनको काममा निकै हतार गर्ने बानी हुन्छ । डिजाइनरले पाँच दिनमै डिजाइन तयार गरिहाल्छन् भन्‍ने बुझाई हुन्छ । तर, त्यसो होइन ।’ महिना दिनमा गर्नुपर्ने काम पाँच दिनमा गर्न खोज्दा गल्ती हुने उनी बताउँछन् ।

एउटा घर बनाउन एक बर्ष लाग्छ भने डिजाइनको काम गर्न राम्रो कस्टलटेन्सीले ३५ देखि ४० दिनसम्म लगाउने तण्डुकारको भनाई छ । त्यसैले पनि डिजाइनको काममा प्रयाप्त समय निकाल्नुपर्छ । डिजाइनका १० वटा फेज हुन्छन र हरेक फेजमा काम गर्दा समय लाग्छ । तर, धेरैजसो ग्राहक जहाँ छिटो र कम मूल्यमा डिजाइन तयार हुन्छ त्यतातिर लाग्‍ने गर्छन । अनुभव नभएका कस्सल्टेन्सीले घरको डिजाइन त तयार गर्छन तर तपाईंको सपनाको घरले पूर्णता नपाउन पनि सक्छ । घर निर्माणलाई जस्तै डिजाइन र कन्सल्टिङलाई पनि उत्तिकै महत्व दिन उनको सुझाव छ ।

२) नक्सा पास नहुँदै घर बनाउने हतार !


बर्षभरीको कमाईबाट जीवनमा एक पटक बनाइने घरमा मानिसहरु निकै हतार गर्छन । कतिपयले नगरपालिकामा नक्सा पास हुँदै गर्छ, यता घर निर्माण सुरु गरिहालौं भनेर निर्माण थालनी गर्छन् । त्यसो गर्नु गल्ती हुने तण्डुकारको सुझाव छ ।

कहीलेकाहीँ नक्सा पास नहुँदै घर निर्माण थालनी गर्दा समस्या आउन सक्छ । तपाईंले जग खनेर पिलर हालिसक्नु भएको हुन सक्छ, उता नगरपालिकाले तपाईंले पेश गरेको नक्सा नमिलेको भन्दै परिवर्तन गर्न भन्‍न सक्छ । नक्सामा स्ट्रक्चर मिलेन, पिलरको साइज मिलेन वा अरु कमेन्ट गरिदियो भने के गर्ने ? यता निर्माणको काम सुरु भइसकेको हुन्छ । डन्डी काटिसकेको हुन्छ । यस्तो बेलामा नक्सा परिवर्तन गरेर फिल्डमा काम गर्न कठिन हुने उनको भनाई छ ।

‘हतारमा घर बनाउने होइन, नगरपालिकाको स्वीकृति लिएर मात्र निर्माण थालनी गर्नुपर्छ’ उनी भन्छन्, ‘घर निर्माणको क्रममा गरिने गल्तीमध्ये यो पनि हो ।’

३) सरकारी मापदण्ड र कानुनको बेवास्ता


सबै मापदण्ड पुरा भए, आवश्यक सबै कागजातहरु पेश भए घर निर्माण समयमै र सजिलै हुन्छ । सरकारी स्तरबाट अनुमति र स्विकृति लिने काम बास्तवमै झन्झटिलो हुने गर्छ । यो काममा समय र पैसा दुबै खर्च हुन्छ । तर, सबै मापदण्ड पुरा नगरी र सरकारी निकायबाट अनुमति नलिइ घर निर्माणमा जुट्दा नक्शा पास नहुने र भवन निर्माण सम्पन्‍नको प्रमाण पत्र पनि नपाइने समस्या हुन सक्छ । निर्माण सम्पन्‍नको प्रमाणपत्र नभए सवैतिर कानुनी अड्चन सुरु हुन्छ ।

घर निर्माण सुरु गर्नुअघि झन्झट हुन्छ, समय र पैसा खर्च हुन्छ भनेर लापरवाहि गरेमा पछि झनै ठूलो समस्या र चुनौती आइपर्ने तण्डुकार बताउँछन् । त्यसैले आवश्यक सबै कागजातहरु तयार पार्ने र सरकारी मापदण्ड अनुसार निर्माण कार्यमा लाग्‍नुपर्ने निर्माण व्यवसायीको सुझाव छ ।


४) घरको थ्रिडी डिजाइन नखोज्‍नु


धेरैले नक्साको डिजाइन गरेपछि थ्रिडी फोटो वा भिडियो खोज्दैनन् । तपाईंले आफ्नो घर बाहिरबाट हेर्दा कस्तो बन्दैछ भनेर पहिल्यै थाहा पाउनु राम्रो हुन्छ । पछिल्लो समय धेरैले घरको आउटलुक खोज्‍न थालेको तण्डुकार बताउँछन् । यदि डिजाइनरले थ्रिडी फोटो दिन्‍न भन्यो भने दुई पैसा बढी तिरेर भएपनि लिनुपर्ने उनको सुझाव छ ।

‘मेरो घर बनेपछि बाहिरबाट कस्तो देखिन्छ देखाउनुस् भन्‍नुपर्छ’ उनले भने, ‘थ्रिडी बनाउन समय लाग्छ, पैसा बढी लाग्ला, तर थ्रिडीमा देखेपछि मेरो घर यस्तो बन्छ भन्‍ने थाहा त हुन्छ नि ।’ यस्तो अवस्थामा केही कुरामा चित्त नबुझे डिजाइनको फेजमा परिवर्तन गर्न पनि सकिन्छ ।

तर, धेरै ग्राहकले पैसा खर्च हुने लोभमा थ्रिडी बनाउन नखोज्‍ने उनको अनुभव छ । यदि डिजाइन नै राम्रो छैन भने जतिसुकै राम्रो ठेकेदार वा निर्माण सामाग्री प्रयोग गरेपनि घर राम्रो बन्दैन ।

उनी थप्छन्, ‘घरको जस्तो डिजाइन तयार हुन्छ त्यस्तै घर बन्‍ने हो । त्यसैले घरको डिजाइनमा प्रयाप्त समय र मेहेनत लगाउनुपर्छ ।’ घरभित्रका कोठा र सुविधाहरु पनि डिजाइनकै चरणमा तयार गर्ने हो । आफ्ना आवश्यकताहरु डिजाइनरलाई भनेपछि उसले तपाईंको आवश्यकता र आकांक्षा अनुसारको डिजाइन तयार पारिदिन्छ ।

५) इलेक्ट्रिकल र प्लम्बिङको डिजाइन नगर्नु


सबैले घरको स्ट्रक्चर डिजाइनमा धेरै मेहेनत गर्छन । घरमा इलेक्ट्रिकल र प्लम्बिङको डिजाइन गर्न छुटाइरहेको हुन्छन । सम्बन्धित क्षेत्रको दक्ष इञ्‍जिनियरहरुबाट इलेक्ट्रिकल र प्लम्बिङको डिजाइन गरेपछि घरमा विद्युत चुहावट भएर हुने आगलागीदेखि पानी चुहिने समस्यासम्म कम हुन्छन् ।

‘तपाईंको घर जबसम्म रहन्छ तबसम्म त्यो ड्राइङ काम लाग्छ’ उनी भन्छन्, ‘डिजाइन नगरी घरमा विद्युतीकरण गर्दा बत्तीवालाले कहाँ–कहाँ प्वाइन्ट राखिदिन्छ पछि मर्मत गर्ने बेलामा फेला नपरेर सबै फुटउनुपर्ने हुन्छ, तर राम्रोसँग डिजाइन गरेर वायरिङ र प्लम्बिङ गर्यो भने सजिलै प्वाइन्ट पत्ता लगाउन सकिन्छ ।’ र, मर्मत सम्भारका लागि पनि समस्या हुँदैन ।

राम्रो इञ्‍जिनियरले डिजाइन गरेपछि वायरिङ र प्लम्बिङ धेरै हदसम्म सुरक्षित पनि हुन्छ । घरीघरी एउटै विद्युतको काम गर्ने मान्छे पनि खोजिरहन पर्दैन । अर्को मान्छेले पनि डिजाइन हेरेर मर्मत गरिदिन सक्छ ।

अहिले नगरपालिकाले १ हजार स्क्वायर फिटभन्दा ठूलो घरका लागि इलेक्ट्रिकल र प्लम्बिङको अनिवार्य डिजाइन माग्छ । तर, साना घरमा डिजाइन गर्ने चलन छैन्, ठेकेदारको भरमा छोडिदिने चलन छ । तण्डुकारका अनुसार पछिल्लो समय मान्छेहरु सुरक्षातर्फ सचेत हुन थालेका छन् । इलेक्ट्रिकल र प्लम्बिङ गर्न कन्सल्ट्यान्टले पनि सुझाव दिन थालेपछि धेरैले सम्बन्धित क्षेत्रको इञ्‍जिनियरलाई डिजाइन गराउन थालेको उनी बताउँछन् । उनी थप्छन्, ‘अझै पनि जसरी घरको स्ट्रक्चर डिजाइनमा फोकस्ड गरिन्छ, त्यसरी नै इलेक्ट्रिकल र प्लम्बिङको डिजाइन गर्ने विषयमा मान्छेहरु पछाडि नै छन् ।’

६) ठेकेदार छनौटमा ध्यान नदिनु


तपाईले बनाएको घरको सुन्दर डिजाइनलाई मुर्तता दिने कन्स्ट्रक्सन (ठेकदार) कम्पनीले हो । घर निर्माण सुरु गरेदेखि नसकिदासम्म कुनै पनि ठेकेदारसँग महिनौसम्म काम गर्नुपर्ने हुन्छ । आफ्नो सपनाको घरलाई साकार रुप दिनका लागि अनुभवी कन्ट्रयाक्टर छनौट गर्नुपर्ने तण्डुकारको सुझाव छ ।

‘कम रकममै ठेक्कामा काम गर्ने मान्छे होइन कि राम्रो काम गर्ने अनुभवी कन्ट्रयाक्टर छनोट गरेर घर निर्माणको जिम्मा लगाउनुपर्छ’ तण्डुकार सुझाउँछन्, ‘अनुभवी र असल कन्ट्रयाक्टरको काम गर्ने शैली पनि राम्रो हुन्छ, भनेकै समयमा घर निर्माण सम्पन्‍न गरिदिन्छ ।’

तपाईंले जति राम्रो इञ्‍जिनियर वा सुपरभाइजर राखे पनि आखिरी काम गर्ने ठेकेदार कम्पनीले नै हो । त्यसैले आफुले चयन गरेको निर्माण कम्पनी वा ठेकेदार अनुभवी, सक्षम र विश्‍वसनीय छ कि छैन पहिल्यै निश्‍चित गर्नुपर्छ । काम सुरु भएपछि ठेकेदार परिवर्तन गर्न कठिन, खर्चिलो र झन्झटिलो पनि हुन सक्छ ।

७) निरिक्षणका लागि प्राविधिक नराख्‍नु


तपाईंले आँखाले हेरेर पिल्लर सिधा छ कि छैन, वाल सिधा छ कि छैन भनेर त हेर्न सक्नुहोला । तर, डन्डी काट्ने र बाँध्‍ने, सिमेन्ट, बालुवा र गिट्टीको घोल बनाउने, पिल्लर र बिम बाँध्‍ने लगायत प्रविधिक काम थाहा हुँदैन । ठेकदार कम्पनीले राम्रोसँग काम गरिरहेको छ कि छैन भनेर निरिक्षण गर्न विश्‍वसनिय र अनुभवी प्राविधिक राख्नुपर्ने हुन्छ, जुन कुरा अधिकांश घर निर्माताले छुटाएका हुन्छन ।

८) डोकोबाट ढलान गर्नु


धेरैजसो ठेकेदार कम्पनीले घर ढलान गर्दा डोकोबाट ढलान गर्छ । ‘डोको त कुनै ठूलो हुन्छ कुनै सानो हुन्छ, ढलान गर्दा ब्यालेन्स मिल्दैन’ उनी भन्छन्, ‘ढलान गर्नका लागि बजारमा क्युब बक्स पाइन्छ, हार्डवेयर पसलमा गएर ढलान गर्न क्युब बक्स दिनुस भन्दा दिन्छन् ।’क्युब बक्सबाट ढलान गर्दा क्‍वालिटी मेन्टेन गर्न सकिने उनको सुझाव छ । तर, हामीले यस्ता कुरामा त्यति ध्यान दिँदैनौं । ठेकेदार कम्पनीले पनि आफुलाई जे सहज हुन्छ त्यहि तरिकारले काम गरिदिन्छन् ।

९) सामाग्री खरीदको जिम्मा ठेकदारलाई छाडिदिनु


घर निर्माण प्रक्रियामा सबै कुराको जिम्मा र निर्णय लिने कामठेकेदारलाई छोडेर निष्क्रिय बस्नु राम्रो हैन् । निर्माणको कामको हरेक चरणमा आफु प्रत्यक्ष सहभागी हुनुपर्छ ।

ठेकेदारको कुरालाई पनि विचार गरेर स्वयम आफूले पनि बजार बुझेर निर्माण सामाग्रीको खरीदको निर्णय लिनुपर्छ । निर्माणमा प्रयोग हुने सिमेन्ट, रड, गिट्टी, बालुवा, काठ, मार्बल, पेन्ट, किचन तथा बाथरुमका सामाग्री लगायत खरिद गर्दा आफुले पनि बुझेर मात्र खरिद गर्नुपर्छ । तपाईं चनाखो हुनुभयो भने कसैले पैसाको दुरुपयोग गर्ला र सामाग्रीको गुणस्तरमा प्रश्‍न खडा होला भन्‍ने चिन्ता रहदैन ।

घरको भित्री संरचनामा ध्यान पुर्याए जस्तै घरको बाहिरी भागको निर्माण काममा र रंगरोगनमा पनि उतिकै ध्यान दिनुपर्ने तण्डुकार सुझाव दिन्छन् ।

१०) आवश्यकता भन्दा ठूलो घर बनाउनु


यो पनि अर्को गल्ती हो । कतिपयले एक तला घर बनाउँदा पुग्‍ने भएपनि समाज र आफन्तलाई देखाउन ठूलो घर बनाउन खोज्छन् । त्यो घर भाडामा लगाउन सके त फाइदा होला नत्र त आर्थिक दबाब पर्ने तण्डुकार बताउँछन् । ‘आफुलाई जति आवश्यक हो त्यति तला बनाउने हो’ उनी भन्छन्, ‘घर बनाउँदा समाजको अनावश्यक दबाब महशुस गर्ने होइन, यसले अनावश्यक बैंकिङ ऋण लिनुपर्ने हुन्छ, भोली बैंकको किस्ताले थिच्‍न थाल्छ ।’

११) अरुको घरजस्तै बनाउन खोज्‍नु


तण्डुकार भन्छन्, ‘धेरैले मेरो साथी, छिमेकी वा आफन्तले यस्तो घर बनाएको छ त्यस्तै डिजाइन तयार पारिदिनुस भन्दै आउँछन्, त्यो पनि गलत हो ।’ कुनै पनि डिजाइनरकहाँ घरको मौलिक डिजाइन गर्न जाने हो कपी पेष्‍ट गर्न जाने होइन । तपाईं आफ्ना आवश्यकताहरु डिजाइनरलाई बताउनुस्, कमेन्ट गर्नुस् तर आफै डिजाइनर चाहि नबन्‍नुस् ।
यदि तपाइ पहिलो पटक घर बनाउँदै हुनुहुन्छ र माथि उल्लेख गरेका गल्तीहरु हुन नदिने गरी काम थाल्नुहुन्छ भने अनुभवी निर्माताले जस्तै त्रुटीरहित घर बनाउन सक्नुहुन्छ ।



copied from online news 
Study purpose

Comments

Popular posts from this blog

विश्वभर इन्टरनेट सेवा दिँदै स्टारलिंक

आफ्नो मोबाइल दर्ता भए/नभएको यसरी थाहा पाउनुस्, अनलाइनबाटै कसरी दिने दर्ता आवेदन ?